हिन्दु नारीको सकस्

नेपालमा कुनै दुःखद घटना घट्ने वित्तिकै “सतिले सरापेको देस” भन्ने चलन छ । यसको वारेमा समय समयमा नारिहरुमा घटेको घटनाले अवगत गराई रहेकै देखिन्छ । तापनि परापुर्व कालदेखिकै हिन्दु नारिको वेदनाका वारेमा छलफल भैरहेकै पाउँछौं । पुनः एकपटक यस वारेमा छलफल हुनुजरुरी ठानेर संक्षिप्तमा यो लेख प्रस्तुत गर्ने जमर्को गरि रहेकोछु ।
सति प्रथाको उत्पत्ती कहिले देखि भयो भन्ने कुराको ठ्याक्कै प्रमाण भने भेटिदैन । तर, हिन्दु धर्मका कथन अनुसार दक्ष प्रजापतीले आफ्नो पती शिव जिको अपमान गरेको देखेपछि खप्न नसकेर सतीदेवीले आगोमा फालहाली आत्मादाह गरेदेखि सतिप्रथा शुरुभएको होभन्ने पनि चलन छ । यसैलाई हिन्दु धर्ममा अशल पत्नीको रुपमा व्याख्या गर्नेगरेको पाईन्छ । यसवेला देखिनै नारिमाथि शोषण हुनथालेको कथाव्यथाले शिध्द गरेको पाईन्छ ।
यो प्रथा भनेको विवाहित महिलाले आफ्नो श्रीमानको मृत्यूपछि श्रीमान संगै चितामा जल्नुपर्ने प्रचलन थियो । सति प्रथाको अन्त्य भारतमा उन्नाईसौं शताब्दीमा ब्रिटिस शासनकालमा भएको थियो । सन १८२९ मा बृटिस गभर्नर जनरल विलियम बेन्टिकले बंगाल सति नियम मार्फत यो प्रथा गैरकानुनी मानियको थियो । नेपालमा भने सतिप्रथा राजा राजेन्द्रको पालामा सन १९२० को दशकमा रोक लगाईएको कुरा ईतिहाँशले बताउँछ । तैपनि परम्परागतका कारण कतिपय ग्रामीण क्षेत्रमा भने यो प्रथा पछि सम्म पनि लुकिछिपि चलिरहेकै थियो ।
परापुर्व कालदेखि चलि आएको हिन्दुधर्मका नारिहरुले आफ्नो पतिलाई खुसि राख्नका लागि हरेक किसिमको त्याग र तपस्या गर्नुपरेको देखिन्छ । जस्तैः आफ्नो श्रीमान र परिवारको मान्यवरहरुले खाना नखाई बुहारी नारिले खान नपाउने । हरेक दिन पतिको गोडाको पानीखानु पर्ने, गोडामा ढोग्नुपर्ने । पतिले खाएको जुठो थालमा खानाखानु पर्ने । पतिलाई वाहेक अरुलाई कुनैपनि नाङ्गो शारिर प्रदर्शन गर्न नहुने । पतिको आयू बढाउन विभिन्न खालको व्रत बस्नुपर्ने । आफ्नो जन्मघरका साथिसंगी छाडेर नयाँनौलो पतिको घरमा जानुपर्ने र अर्काको घरमा जाने छोरिले पढ्न नहुने, जस्ता अनेकौं कुःरितिहरुले हिन्दुधर्म माथि थुप्रै प्रश्नहरु उठ्न थालेको हो । यसकै फलस्वरुप धेरै धर्मावलम्वीहरु हिन्दुधर्म छाडेर अन्यधर्म परिवर्तन गर्नतिर लागेको देखिन्छ ।
परापुर्व कालदेखि हिन्दुधर्ममा पाठपुजा गर्ने संपुर्ण विधि र संंस्कारहरु पंडीतले संस्कृत भाषामा पढेर बताउने गरेको देखिन्छ । २०२०–२५ साल सम्मपनि विद्यालयहरुमा संस्कृत भाषाको पढाई हुने गर्दथ्यो । तर, विस्तारै संस्कृतको पढाई हुन छाडेर राष्ट्रीय भाषा मानीयको नेपाली लिपि र अंग्रेजीमा पढाई हुनथालेको छ । यसको अर्थ हिन्दुधर्मको शुरुवात संस्कृत भाषाविदहरु (ऋषीमुनीहरु) वाट भएको देखिन्छ । यिनै धर्मका कारण नारिको शोषणलाई संस्कार बन्नपुगेको देखिन्छ । अझै भन्ने होभने, परापुर्व कालमा द्रौपदीका पाँच पाण्डव पति थिए । यसैको प्रादुर्भाव होला, अझैपनि नेपालको हिमाली क्षेत्रतिर दाजुभाईका साझा श्रीमती राख्नेचलन छदैछ । यहि कुराले पनि परापुर्व कालमा नारिलाई विलासिताका साधनका रुपमा लिनेगरेको देखिन्छ ।
नेपालको ईतिहाँश अनुसार वि.सं. १७०७ मा राजा लक्ष्मी नरसिंह मल्लको विश्वास् पात्र, ईमान्दार काजी भिम मल्ललाई सेनाको नेतृत्व दिएर तिब्बतको लडाईमा खटाईए पछि महत्वाकांक्षी राजकुमार प्रताप मल्लले आफ्ना बाबु लक्ष्मीनरसिंह मल्ललाई कब्जामा लिई आफुलाई राजा घोषणा गरेर सनकी राजा प्रताप मल्ललाई अन्य काजि तथा भाई भारदारहरुले ईमान्दार तथा कुशल सेना प्रमुख काजी भिम मल्लको विरुध्दमा “भक्तपुरको राजासंग मिलेर काजी भिम मल्ल आफु राजा हुनखोजेको छ” भन्नेकुरा राजा प्रताप मल्ललाई अन्य भाई भारदारहरुले चुक्ली लगाएका थिए भनिन्छ । सनकी राजा प्रताप मल्लको आदेशमा तिब्बतको यूध्द सफल पछि शौहार्दपुर्ण सम्बन्ध कायम गरि फर्केका काजी भिम मल्ललाई आफ्नो बासस्थानमा पनि पुग्न नदिई दरबारमा विन्ति चढाउन जाँदा १७०७ माघ ३ गते ईमान्दार काजी भिम मल्ललाई दरबारको मुलढोकामा काटेर हत्या गरिदिएका थिए । यतिवेला सतिप्रथाको चलन भएको हुँदा निज काजि भिम मल्लका श्रीमती भुवन लक्ष्मी मल्लले सतिजाँने क्रममा “यस्तो ईमान्दार पुर्वक कामगर्नेलाई पनि मार्ने यो देसमा राम्रो कामगर्ने कसैको पनि भलो नहोस” भनि सराप दिएर सति गएका थिए भन्ने सुनिन्छ । उक्त कुरा ईतीहाँशकार डा. पेशल दाहाल द्वारा लिखित नेपालको ईतीहाँशमा उल्लेख गरियको छ ।
पुर्ववत ईतीहाँशलाई केलाउँदा पनि नेपालमा नारिले सुःखत पाएका थिएनन् । तर जिउँदै श्रीमान संग जल्नुपर्ने वेलाको वारेमा अरु धेरै बखान गरि रहनु नपर्ला जस्तो लाग्छ । तर पनि विगतमा नारिहरुका कथाव्यथा सुनेका, पढेका र देखेका आधारमा केहि कुरामा भने चर्चागर्नु उचित होलाकि भन्ने ठान्दछु ।
सति प्रथाको कुरागर्नु पर्दा रोगव्यथा केहि नभएको नारिले आफ्नो श्रीमानको नाममा संगै ज्यान अर्पण गर्नुपर्ने वेला कति करुणादायी कथाव्यथा थियो होला भनि अनुमान लगाउन सकिन्छ । यस्तो कारुणीक व्यथाको बयान पनि कसरि गर्न सकिन्छ र ? वि.सं. १९७७ साल असार २५ गते तत्कालीन प्रधानमंत्री चन्द्र शमसेरले सतिप्रथाको अन्त्य गरेपछि नारिहरुले आफ्नो श्रीमान संगै देहत्याग गर्नुत परेन । तर, २००७ सालको प्रजातन्त्र पछि २०२० साल सम्मपनि नारिहरुले सति बाहेकका सबै व्यथाहरु सहनु परेको देखेकै थियौं । यसैले अगाडी नदेखेको कुरा भन्दापनि देखेजानेकै कुराहरुका वारेमा चर्चागर्नु उचित होला भन्नेलाग्छ ।
वि.सं. २०१५–२० साल सम्म छोरिहरु अर्काको घरमा जाने जाती भएकोले पढ्न हुँदैन भन्ने चलन थियो । त्यतिवेला स्कुल, पाठशालाहरु पनि त्यति धेरै खुलीसकेका थिएनन् । धनीमानीका छोराहरु पनि बनारस गई पढेर आउँथे । पंण्डीतहरुको घरदैलोमा गई चाकडी गरेर अक्षेर चिन्ने गर्दथे । पछि गएर थोरैमात्र पाठशालाहरु खुल्नथाले, तर छोरिलाई पढाउन हुँदैन भन्ने चलन चाहि यथावतनै थिए । छोरिहरुले पढ्न जानेभने केटाहरुलाई चिठित्र लेख्छन, चरित्रहिन हुन्छन् भन्ने गर्थे पुर्वजहरु । यसको केहि कारणहरु यस्ता थिए । १) बहुसंख्यक मानिस कृषीमा निर्भर हुने भएकोले जनसक्तिको अभावमा पनि छोरिलाई स्कुल नपठाउने गर्दथे । २) छोरीको जात अर्काको घरमा जानेहुँदा पढाएर केहि अर्थछैन भन्नेगर्थे । ३) छोरीको सुरक्षाका दृश्टीकोणले पनि घरभन्दा बाहिर कतै जानु हुँदैन वा पठाउनु हुँदैन भन्थे ।
छोरिलाई पढाउने र नपढाउने कुरामात्र होईन । घुमफिर गर्ने, यत्रतत्र जाने छुट्पनि छोरिलाई हुँदैन थिए । यसरि रजस्वला नहँदै छोरिलाई कन्यादान गर्दा मृत्यूपछिको जिवन सुखमय हुन्छ भनेर खेल्नेखाने उमेरका अनजान छोरीहरुलाई मिठो खानपाउँने, राम्रो लगाउन पाउँने भनेर ललाई फकाई बाल्यकालमै कन्यादान दिई पठाउँने चलन थियो । उमेर नपुगेका बाल्यकालको छोरीहरुलाई कन्यादान गरेमा ठुलो धर्महुन्छ भन्ने गर्दथे । राम्रो लगाउन पाउने र मिठो खान पाउने लोभमा सानासाना कन्याहरु विवाह गर्न मन्जुर हुनेगर्दथे । यो प्रथापनि नेपालमा विशेषगरि ब्राम्हण जातीमा धेरैहुने गर्दथे । यसो भन्दैगर्दा छोरीलाई अन्माउँदाको स्थितिलाई पनि थोरै मुल्यांकन गर्नजरुरी ठान्दछु । साना उमेरका छोरीहरु श्रृंगारपटार र नयाँलुगा लगाउन पाएपछि खुसिहुन्थे । यसैगरि गरगहना, गुनियो चोली र मिठो खानाको विषयमा पनि केहि चर्चा गर्नुपर्ला जस्तो लाग्छ ।
आजभन्दा ५०–६० वर्ष अगाडीको कुरा हो । म आफैले पनि देखेजानेको कुरा विवाहमा दुलाहा र दुलही बोक्ने एकडांडीको डोली र उनको रातो झ्यापुनको चलन थियो । रातो झ्यापुनले ढाकेर दुलहीलाई छाता ओढाउने गर्दथे । बारहात लामो छिटको फरिया, घरबुनाको पटुका, सनपाटको रातोचोली, रातै पछौरी र गरगहनामा शिरको फुल, चाँदीको कल्ली, सुनको मुन्द्री वा यार्लीङ्ग, हातमा चाँदी वा सुनको बाला, पोतेमा उनेको जन्तर र फुर्के रातोधागो, रातोटिका लगाई दुलही अन्माउने चलन थियो । यतिधेरै लुगाकपडा र गहना लगाएका कन्यालाई रातो उनको झ्यापुनले छोपेर दिनभरिको वाटोमा लैजाँदा कतिगर्मीले उसिन्ने गर्थेहोला भन्ने अनुमान गर्नपनि गाहारो हुन्छ । घरमा भित्रिय पछि पनि शासु शसुरालाई ढोग्नुपर्ने, दुलाहालाई खुट्टाको पानीखाई ढोग्नुपर्ने, सबै परिवारले खाईसके पछि दुलाहाको जुठो थालमा खाना खानुपर्ने, सबैले खाएको र पकायको जुठोभाँडा माझ्नुपर्ने चलन थियो केहिवर्ष पहिले सम्म । अलि उमेर पुगेपछि शासुको गोडामा तेल लगाउनु पर्ने र गोडा मिच्नुपर्ने जस्ता बुहारीको कहर कसले देख्ने ? यसरि कलिलै उमेर देखि नारिले सास्ती खेप्नुपर्ने देखिन्थ्यो ।
यत्तिमात्र होईन, घरको धन्दा सकेपछि थकाईले लखतरान भएकी नारी सुत्नेठाउँ गतिलो पाउँदैन थिए । राति अवेर सम्म घरको धन्दा सकेर सुत्नेनारी विहान सबै परिवार भन्दा पहिला करिव ३–४ बजनैे उठ्नु पर्ने, घरको सरसफाई, ढिकि झाँतो र पानी पधेरो गर्नुपर्ने हुन्थ्यो । यति तोकियको काम सकेपछि गाईवस्तुलाई घाँस काट्न जानुपर्ने जिम्मा पनि उनिहरुकैै हुन्थ्यो । विहानमा यति कामसकेर खाना र भान्साको धन्दा भ्याई फेरि मेलापातमा जानुपर्ने नारीको दिनचर्या हुन्थ्यो । तर, छोराहरु भने कुलधान्ने जात होभनेर स्कुल कलेजमा पढाउने गर्दथे । प्रायजसो छोराहरु सरकारी नोकरी र खेतीपातीमा व्यस्त हुनेगर्थे भने छोरीबुहारी भने चुलाचौका र घरको धन्दामा व्यस्तहुने गर्दथे । यि सबै कथाव्यथा सुन्दा पनि नारीले कतिधेरै पिडाहरु खाप्नुपर्ने रहेछ भनेर कसैले बुझ्दैन थिए ।
नारि सहनशील जाती हुन्भन्ने कुरामा मचाहिं अभ्यस्त छु । यति धेरै व्यथा खप्दापनि घर परिवारमा नारी माथि अनेकौं लांञ्छनाहरु लगाउने गर्दथे । कहिले काँहीत अनावश्यक कारण हत्याहिंशा समेत खेप्नु पर्दथ्यो नारीले । यतिमात्र काहाँ हो र, माईतीवाट दाईजो थोरै ल्याईस् भनि अर्को थप खप्की खानु पर्दथ्यो । अझैपनि यस्ता छुटफुट घटनाहरु कतैकतै घट्ने गरेको सुनिन्छ ।
यसरि नारि प्रतिको दमन र अत्याचार विशेष गरि एसियन, मुस्लीम र अफ्रिकन मुलुकहरुमा धेरै हुने आंकडाले देखाउने गरेकोछ । हालसालै भारतको कलकत्तामा एक अविवाहित डाक्टर यूवतीको जघन्य अपराधको घटना सार्वजनिक भएको थियो । नेपालमा दिनानु दिन यस्ता घटनाहरु समाचारमा आउने गरेको देखिन्छ । यूरोपीयन मुलुकतिर बालबालीका र महिला प्रतिको कानुन् अतिकडा देखिन्छ । नेपालमा पनि यस्ता घटनाहरु नियन्त्रण गर्नका लागि सरकारले कडा कानुन ल्याउनु जरुरी देखिन्छ । अर्को सानासाना बालबच्चाहरुलाई विद्यालयमा सुरक्षा र नैतिक शिक्षाको विशेष पाठ्यक्रम शुरुगर्नुको साथै बच्चाहरुको सुरक्षा कानुन पनि कडाहुनु आवश्यक छभन्ने मेरो व्यक्तिगत धारणा रहेकोछ । धन्यवाद
बद्री मास्के, गोरखा
मिति २०८१।११।२३ मा

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Relatetd Post